Tuesday 4 February 2014

बहराईनमा पनि मनाइयो सोनाम ल्होछार

losar-baharain-1नारायण रपाल विश्वाकर्मा मानमा । बहराईनमा रहेका तामाङ समुदायले २८५० औँ नयाँ वर्ष अर्थात ‘सोनाम ल्होछार’ पर्व भब्यरुपमा मनाएका छन् । तामाङ सेवा समाज बहराईनको आयोजनामा शुक्रवार पाकिस्तानी क्लबको सभाहलमा भएको कार्यक्रम समाजका अध्यक्ष श्रवण मिक्चनको सभापतित्व एवम् नेपाली राजदूतावास बहराईनका कार्यबहाक राजदूत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बहराईनस्थित बिभिन्न संघ संगठनका प्रतिनिधिहरु उपस्थित थिए । दुई चरणमा बाडिएको कार्यक्रममा सोनाम ल्होसारको पहिलो चरणमा दिउँसो ३ बजेबाट बौद्ध धर्म र तामाङ संस्कृति अनुसार लामा गुरुहरुले पुजापाठ गरिएको थियो भने साँझ ६ बजेबाट सुरु भएको दोश्रो चरणमा नेपाली राष्ट्रिय गीतबाट सुरु गरिएको साँस्कृतिक कार्यक्रममा प्रथम बहराईन आईडल सागर राई तथा बहराईन आईडलमा सहभागी अन्य कलाकार लगायत स्थानिय कलाकारहरुले बिभिन्न साँस्कृतिक कला पस्केका थिए । कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि डा. सुबेदीले प्रबासी भुमीमा पनि नेपालकै झल्को दिने गरी आफ्नो कला, संस्कृति, परम्परा जोगाउन तामाङ सेवा समाज सक्रियता पुर्वक लागेकोमा खुशी व्यक्त गर्दै उपस्थित सबैमा सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. दुर्गाबहादुर सुबेदी र श्रीमती सुबेदीलाई तामाङ संस्कृति झल्को दिने टोपी र खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन नभे अनिल योन्जन र कृष्ण तमाङले गरेका थिए ।  

No comments:

Post a Comment