Wednesday, 5 June 2013

एसएलसी नतिजा असार पहिलो साता

काठमाडौं जेष्ठ २२ - परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले यसवर्षको एसएलसी नतिजा असार पहिलो साता प्रकाशित गर्ने तयारी गरेको छ। उसले त्यहीअनुसार जोडतोडका साथ तयारी गरिरहेको जानकारी दिएको छ। विद्यार्थी संख्या गत वर्षको तुलनामा धेरै भएकाले यो वर्ष नतिजा प्रकाशन एक साता ढिलो हुन लागेको हो। 'हामी असार पहिलो साताभित्र (सम्भवतः २ गते) नतिजा प्रकाशनको तयारीमा छौं,' परीक्षा नियन्त्रक खगराज बरालले भने, 'गत वर्षभन्दा यसपालि विद्यार्थी धेरै भएकाले ढिलो हुन लागेको हो।' गत वर्ष जेठ ३१ मा नतिजा प्रकाशन भएको थियो। गत चैतमा सम्पन्न एसएलसीको लागि ५ लाख ४७ हजारले फाराम भरे पनि ५ लाख २७ हजारले मात्रै जाँच दिएको परीक्षा उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिए। २० हजार विद्यार्थी अयोग्य ठहरिएकोले संख्या घटेको उनले बताए।
पनिकाले एसएलसीको फारम भर्ने म्याद २०६९ असार ७ सम्म तोकेको थियो। टेस्ट परीक्षा हटाएपछि ७५ प्रतिशत कक्षामा हाजिर विद्यार्थी एसएलसी दिन योग्य हुने माध्यमिक परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा व्यवस्था छ। सोही आधारमा पनिकाले माघ मसान्तसम्म विद्यालयबाट योग्य विद्यार्थीको अन्तिम सूची मागेको थियो। 'माघ मसान्तसम्म देशभरका २० हजार परीक्षार्थी अयोग्य ठहरिए,' उपनियन्त्रक अर्यालले नागरिकसँग भने, 'त्यही भएर परीक्षा दिने कम भए।'

पनिकाले परीक्षा केन्द्रबाट प्राप्त उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य पूरा गरिसकेको छ। प्राप्त तथ्यांक कम्प्युटरमा इन्ट्री गर्ने काम अन्तिम चरणमा पुगेको उसले बताएको छ। नतिजा प्रकाशनको क्रममा विगतमा हुने गरेका प्रक्रियागत र तथ्यांक इन्ट्री गर्दाका त्रुटि कम गर्न यस वर्ष कार्यालयले सावधानी अपनाएको समेत उपनियन्त्रक अर्यालको दाबी छ।
'नतिजा प्रकाशनका क्रममा त्रुटि कम गर्न यस वर्ष पनिकाले प्रत्येक विषयको अलग–अलग इन्ट्री गर्ने काम थालेको छ,' अर्यालले नागरिकसँग भने, 'यसले विषयगत त्रुटि कम गर्न सहयोग गर्नेछ।' यसका लागि मानवस्रोत र साधनसमेत विगतभन्दा बढी परिचालन गरिएको उनले बताए।
अर्यालका अनुसार यस वर्ष पनिकाले अन्तिममा बढी नम्बर ल्याउनेको स्याम्पल पनि हेर्नेछ। 'सबै विषयमा विशिष्ट तर एक विषयमा फेल छ भने त्यस्ता विद्यार्थीको उत्तरपुस्तिका गहिरिएर अध्ययन गर्ने संयन्त्र हामीले बनाएका छौं,' अर्यालले भने।
उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्ममा कुनै पनि विद्यार्थी मर्कामा नपरुन् भनेर त्रुटि कम गर्न पनिकाले बलियो संयन्त्र परिचालन गरेको उनको दाबी छ। 

No comments:

Post a Comment