Friday, 5 April 2013

मूल्य घटे पनि सुन कारोबारमा मन्दी

काठमाडौ, चैत्र २३ - केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आई स्थानीय मूल्य घटे पनि मागमा भने सुधार देखिएको छैन । अन्तर्राष्ट्रिय बजारमा मंगलबार राति सुनको भाउ प्रतिऔंस (१ औंस बराबर २ तोला ६७ लाल) ३७ अमेरिकी डलर घटेको थियो ।
goldयसले घरेलु बजारमा प्रतितोला ८ सय रुपैयाँ घटाएको थियो । तर माग भने औसतभन्दा पनि कम कारोबार भइरहेको व्यवसायी बताउँछन् । मूल्य घट्नुको कारण यकिन छैन । 'तर कमोडिटी बजारमा चलखेलको आशंका छ,' सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यल भने, 'कारण यकिन नभएकाले भाउ कहिले र कतिसम्म तलमाथि हुन्छ भन्न सकिँदैन ।' यता सुनचाँदी व्यसायी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जन भने अमेरिकी सेयर बजार उकालो लागेकाले सुनको भाउ घटेको बताउँछन् ।
हरेक पटक मूल्य घट्दा कारोबार बढ्ने गथ्र्यो, यस पटक भने त्यस्तो नदेखिएको उनको भनाइ छ । 'उपभोक्ता पनि थप घट्ने आशामा पर्ख र हेरको स्थितिमा भएकाले सुन कारोबारमा मन्दी देखिएको हो,' उनले भने ।
विवाहको लगन नपर्ने भएकाले चैत महिना सुन बजारका लागि 'अफसिजन' हो । नेपाल भारतमा विवाहका बेला अत्यधिक सुनको कारोबार हुने गर्छ । विगतमा बैंकको सुन ठूल्ाा व्यवसायीले किनेर माग बढेका बेला कालोबजारमा २/३ हजार रुपैयाँसम्म बढीमा बिक्री गर्ने गरेको पाइएको थियो । तर माग घटेकाले ठूला व्यवसायीले दुई सातादेखि सुन निकालेका छैनन् । यसबेला भने उनीहरूले भण्डारण थालेको व्यवसायीको भनाइ छ । चाँडै चर्को मुनाफा गर्न सकिने सम्भावना रहेकाले व्यवसायीले ठूलो परिमाणमा सुन भण्डारण गरेको स्रोतले जानकारी दियो । 'एकै व्यवसायीले १५/२० किलो सुन भण्डारण गरेका छन्,' एक सुन व्यवसायीले भने, 'यहाँ ५० किलोसम्म सुन थुपार्ने पनि छन् ।' शाक्यले भने अफसिजन भए पनि सुनको वैध आपूर्ति मागभन्दा कम भएकाले भण्डारण गरेको कुरालाई नकारे । 'अहिले पनि गहना व्यवसायीले सहज रूपमा सुन पाएका छैन,' उनले भने, 'कालोबजारमा रेट कमसम्म भएको हो ।' यता बैंकले भने वैशाखमा लगन सुरु भएपछि घरेलु बजारका साथै भारतमा सुनको माग ह्वात्तै बढ्ने भएकाले ठूला व्यवसायीले सुन किन्न नछाडेको जानकारी दिएको छ । स्रोतअनुसार बैंकले आयात गर्ने सुन अहिले पनि हाताहात बिक्री भइरहेको छ । 'अहिले पनि सुन बिक्री गर्न दुई दिनभन्दा बढी समय लागेको छैन,' नबिल बैंकका एक अधिकारीले भने । सुन आयात गर्ने वाणिज्य बैंक दुई दर्जन नाघे पनि अधिकांशले नबिल बैंकमार्फत सुन भित्र्याउँछन् । भण्डारण गर्ने व्यवसायीले मूल्य तिरे पनि सुनचाहिँ बैंकमै रहन दिन्छन् । लगन सुरु भएलगत्तै माग आकासिँदा यस्ता व्यसायीले ठूलो मुनाफा गर्न सक्छन् । 'अहिले बिक्री गर्दा किलोमा ३ लाख रुपैयाँभन्दा बढी घाटा हुन्छ,' एक व्यवसायीले भने, 'केही दिन पर्ख र हेरको अवस्था छ ।' लगन सुरु भएपछि घरेलु बजारमै कालोबजारी गरी मुनाफा गर्न सकिने विश्वासमा ठूला व्यवसायी छन् । यसबाहेक भारतमा सुनको भन्सार महसुल थप वृद्धि हुने हल्लाले पनि भण्डारकर्तालाई उत्साही बनाएको छ । भन्सार महसुल वृद्धि भए भारतमा सुनको मूल्यमा थप वृद्धि भई भण्डारणकर्ताले ठूलो मुनाफा गर्न सक्छन् । मुलुकमा भारतीय रुपैयाँ (भारु) को अभावका कारण सुनको बिक्रीबाट प्राप्त हुने भारु सुन व्यवसायीको मुनाफा हुन्छ । राजधानीको बजारमा १ सय भारु १ सय ७२ रुपैयाँमा सटही हुन थालेको छ ।

No comments:

Post a Comment