Wednesday, 3 April 2013

विरोध र्यालीको लागि महासंघको आह्वान

किशन राइ, हङकङ , नेपाल आदिवासी जनजाति महासंघ हङकङले ७ अप्रिलका दिन हुने विरोध र्यालीमा सहभागिताको लागि पत्रकार सम्मेलन मार्फत सर्वसाधरणलाई आह्वान गरेको छ ।
दुम्कुलु क्लवमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समिति तथा महासंघका अध्यक्ष मैनबहादुर थापाले ९८ प्रतिशत भन्दा बढी आदिवासी जनजाति रहेको हङकङको मागलाई नेपाल सरकारले बेवास्ता गरेको कारण यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न र्यालीलगायतका विरोध कार्यक्रम गर्नु परेको बताएका थिए ।
उनले शान्तिपूर्ण रहने र्यालीमा सदस्य संस्थाका सहभागीहरु जातीय भेषभुषामा सांस्कृतिक झाँकीसहित उपस्थित हुने जानकारी गराएका थिए । उनका अनुसार नौमती, च्याब्रुङ, ढोल, झ्याम्टा, धिमेलगायतका बाजागाजासहितको र्याली कौलुन पार्कबाट नेपाली महावाणिज्यदूतसम्म हुनेछ ।
उक्त अवसरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष थापाले आन्तरिक रुपमा मागपत्र, ज्ञापनपत्र, विरोधपत्र दिने, राजनैतिक लविङ गर्नेलगायतका कार्यहरु गर्दा पनि सुनुवाइ नभएपछि अन्य समुदायले थाहा पाउने गरि कार्यक्रम गर्न बाध्य भएको बताएका थिए ।
‘हामीले पनि आन्तरिक कुरा घरभित्रै राखौं भनेर सात वर्ष पर्खियौ तर सुनुवाइ भएन’, थापाले भने, ‘अब अन्तर्राष्ट्रिय क्षेत्रमार्फत पनि दवाव सिर्जना गर्ने पक्षमा छौं । वास्तविक कुरा हङकङका स्थानीय, अधिकारकर्मी, मिडियालगायतलाई जानकारी गराउने आन्दोलनको उद्देश्य रहेको छ ।’
सोही क्रममा उनले नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न राजनैतिक पार्टीमार्फत दवाव सिर्जना गर्ने कार्य भइरहेको जानकारी गराएका थिए । उनका अनुसार एमाओवादी, कांग्रेस, एमालेलगायतका प्रमुख दल जनजातिप्रति सकरात्मक नभएकै कारण महासंघको माग सुनुवाइ भइरहेको छैन ।
विगत सात वर्षदेखि आदिवासी जनजाति मूलका नेपाली महावाणिज्यदूतको माग गर्दै आएको महासंघ नेपाल सरकारले महेशप्रसाद दाहाललाई महावाणिज्यदूतमा नियुक्त गरेपछि आन्दोलनरत रहेको छ । महासंघले ‘संघर्ष समिति’ गठन गरेर दाहालको नियुक्ति खारेज गर्न माग गर्दै विरोधपत्र दिने, धर्ना, हस्ताक्षर संकलन, र्यालीलगायतका कार्यक्रम गरिरहेको छ ।
पत्रकार सम्मेलनमा बायाँबाट क्रमशः महासंघका सल्लाहकार नरहाङ राई, भक्त दुरा, विसन गुरुङ र भूपेन्द्र चेमजोङ बीचमा अध्यक्ष थापा । तस्बिरः जगत गुरुङ ।

No comments:

Post a Comment