Friday, 5 April 2013

आर्थिक वृद्धिदर घट्यो, व्यापार घाटा झण्डै ५ खर्ब

२३ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०६९/०७० मा पनि आर्थिक वृद्धिदर घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ३ दशमलव ५६ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुनेछ । सरकारले यो वर्ष आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरेको थियो । अघिल्लो अर्थिक वर्षमा ४ दशमलव ४८ प्रतिशतले आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०५८/०५९ देखि हालसम्मको आर्थिक वृद्धिको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आव २०६४/०६५ मा ५ दशमलव ८० प्रतिशतले बढेको देखिन्छ । आव २०६७/०६८ मा यस्तो वृद्धि ३ दशमलव ८५ प्रतिशतले मात्र बढेको थियो ।
बजेट संचालनमा आएको समस्याले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा नकरात्मक असर परेको राष्ट्रिय लेखा शाखाका निर्देशक डा. विष्णु महर्जन भट्टराईले बताउनुभयो । उर्जा, उद्योग, निर्माण क्षेत्र, कृषि लगाएतका क्षेत्रमा उत्साहजनक वृद्धि हुन नसक्दा जीडीपी खुम्चिएको उहाँको भनाई छ । तथ्याङ्कहरु अन्तर्राष्ट्रिय प्रावधान अनुसार संकलन गरिएको हुँदा अन्तर्राष्ट्रिय स्तरमै तुलनायोग्य भएको उहाँले दाबि गर्नुभयो । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को जीडीपी १ दशमलव २६ प्रतिशतले मात्र बृद्धि हुने देखिएको छ । जबकी गत आवमा कृषि क्षेत्रको जीडीपी ४ दशमलव ९८ प्रतिशत वृद्धि भएको थियो । यो वर्ष गैर कृषि क्षेत्रको जीडीपी ४ दशमलव ९८ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
गत आवको तुलनामा चालु आवमा खाद्यन्न बालीको उत्पादनमा ४ दशमलव २९ प्रतिशतले ह्रास आउने विभागको तथ्याङ्कमा उल्लेख छ । यसमा पनि धानको उत्पादनमा ११ दशमलव १९ प्रतिशत तथा मकैमा ८ दशमलव २७ प्रतिशतले ह्रास आउने अनुमान गरिएको छ । फलफुल, मासु तथा दुधजन्य उत्पादनहरुमा भने यस वर्ष बृद्धि हुने भएको छ ।मत्स्यपालन क्षेत्रमा गत आवको तुलनामा यस वर्ष ४ दशमलव ४ प्रतिशतले बृद्धि हुने देखिएको छ भने खानी तथा उत्खनन क्षेत्रको जीडीपी गत आवको तुलनामा यस वर्ष ५ दशमलव ४५ प्रतिशतले वृद्धि हुने भएको छ । उद्योग क्षेत्रको जीडीपीमा १ दशमलव ८५ प्रतिशत र विद्युत, ग्याँस तथा पानीको जीडीपीमा शून्य दशमलव २० प्रतिशतले वृद्धि हुने अनुमान छ ।
अघिल्लो आवको तुलनामा यस वर्ष निर्माण क्षेत्रको जीडीपी १ दशमलव ५७ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रको जीडीपी ९ दशमलव ५४ प्रतिशत, होटेल तथा रेष्टुरेन्ट क्षेत्रको ६ दशमलव ८४ प्रतिशत, यातायात संचार तथा भण्डारण क्षेत्रको ६ दशमलव ७३ प्रतिशत, वित्तिय मध्यस्थता क्षेत्रको ६ दशमलव ६५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरि, रियल स्टेट तथा व्यवसायीक सेवाको गत आवाको तुलनामा यस वर्ष १ दशमलव ६४ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको ३ दशमलव ३१ प्रतिशत, शिक्षा क्षेत्रको ४ दशमलव ११ प्रतिशत, स्वास्थ्य क्षेत्रको ६ दशमलव ९५ प्रतिशत, अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाको ५ दशमलव २० प्रतिशत हुने तथ्याङ्कमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment