Sunday, 10 March 2013

युवाहरू जन्ती जाँदा दलित बस्ती सखाप

राजधानी राजविराज, २७ फागुन- विवाहमा जन्ती गएका बेला आगलागी हुँदा सप्तरीको रायपुर गाविसस्थित एक दलित बस्ती सखाप भएको छ । शनिबार दिउँसो सो गाउँकी झुतरादेवी सदाको भान्साकोठाबाट सल्केको आगो फैलिँदै गएपछि ४४ ओटाभन्दा बढी घर सखाप भएका हुन् । गाउँका सबै पुरुष जन्ती गएको र महिला मात्रै रहेको अवस्थामा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो । आगोले दलित बस्तीका मानिसको जीउको कपडाबाहेक सबै ध्वस्त बनाएको छ ।
आगलागीबाट ४४ भन्दा बढी घर नष्ट भई ३५ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक कुशबहादुर थापाले जानकारी दिए । आगलागीले सदाका साथै गंगाई सदा, महेन्द्र सदा, बद्री सदा, रामप्रसाद सदा, ओपिन सदालगायत १ सय ८३ जनालाई बेघर बनाएको छ । भारतको पन्जाबबाट खेती मजदुरी गरी कमाएर ल्याएको सो गाविसका महेन्द्र सदाको २० हजार भारुसमेत जलेर खरानी भएको छ । दलित बस्तीका अधिकांश पुरुषहरू जन्ती गएकाले महिलाहरू मात्रै रहँदा आगो नियन्त्रणमा ढिलाइ भएको गाउँलेहरूले बताए । आगलागीबाट जीउमा लगाएको लुगाबाहेक केही बचाउन नसकेको स्थानीय महेन्द्र सदाले बताए ।
स्थानीयवासी, सेना, प्रहरी र राजविराज नगरपालिकाबाट पुगेको वारुणयन्त्रको मद्दतले दुई घन्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीसँगै तेज गतिमा हावा चलेका कारण केही पनि बचाउन नसकिएको पीडित झुतरीदेवीले बताइन् । शनिबारै जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले प्रारम्भिक राहतस्वरूप अग्निपीडितहरूलाई खाद्यान्न वितरण गरेको प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले जनाए । यसैगरी, रायपुर गाविस कार्यालयले पनि खाद्यान्नका साथै प्रतिपरिवार ५ सय रुपैयाँका दरले राहतस्वरूप उपलब्ध गराएको छ ।

No comments:

Post a Comment