Sunday, 10 March 2013

दुई छोराको हत्यासँगै आमाले गरीन् आत्महत्या

दाङ, फाल्गुन २७ - सतवरीया-६ असानीमा एक आमाले शनिबार दुई छोरालाई विष खुवाएर हत्या गर्नुका साथै आफूले आत्महत्या गरेकी छिन् ।
sucide २२ वर्षीया सिताकुमारी चौधरीले ६ वर्षीय छोरा सुभम र ३ वर्षीय छोरा आरएनलाई बिष खुवाई आफूले पनि खाएको ईलाका प्रहरी कार्यालय लमहीका ईञ्चार्ज प्रहरी निरिक्षक वावुकाजी गिरीले जानकारी दिएका छन् ।
'पहिले वच्चालाई फकाउँदै विष खुवाएको र त्यसपछी आफुले पनि विष खाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ', गिरीले भने, 'घटनास्थलमा दुईवटा चाउचाउको खोल र तरकारीमा छर्ने विषादीको बोत्तल फेला परेको छ ।'

चाउचाउसँग विष खुवाएको हुनसक्ने गिरीले बताएका छन् । बिष खाएर गम्भिर अबस्थामा रहेका आमाछोराको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा लैजादै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।
घरमा कोही नभएको अवस्थामा उक्त घटना भएको प्रहरीले बताएको छ । श्रीमान ईटा बनाउन गएको मौका छोपी आत्महत्या गरेको प्रहरी निरिक्षक गिरीले बताए । विहान दाउरा काट्न सँगै जाने बिषयमा सामान्य भनाभन बाहेक अन्य कुनै विवाद नभएको श्रीमान वनराशीले बताएका छन् । 'दाउरा काट्न सँगै जाऔं भन्दै थिईन् तर मैले घर बनाउने इटा छिटो तयार पार्नुछ भनेर जान सक्दैन भनें । त्यसपछि उनी रिसाएकी थिइन्,' उनले भने,'अन्य केही विवाद थिएन । बेलुका घर र्फकदा यस्तो भएछ ।'

सिताले जंगलबाट दाउरा ल्याएपछि आत्महत्या गरेको उनले बताए । 'शुरुमा भाउजूले थाहा पाउनु भएछ, पछी म आएँ', उनले भने, 'घर आउँदा श्रीमती खटियामा पल्टीएकी थिईन्, दुई छोरा छटपटाईरहेका थिए ।' श्रीमान वनराशी ट्रक चालक हुन् । घर बनाउन थालेपछि उनले केही महीनादेखि ट्रक चालकको काम छाडेका थिए ।
उनीहरुको सात बर्षअघि प्रेम विवाह भएको हो । श्रीमान श्रीमतीबीच अत्यन्त मेलमिलाप र माया प्रेम रहेको छिमेकीहरुले बताएका छन् । एक्कासी आत्महत्या भएकोमा छिमेकीहरु आश्चर्यमा परेका छन् । घटना आत्महत्या नै भएको र अन्य अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment