Thursday, 14 March 2013

सरकार विरुद्ध २२ दलद्धारा बन्द, केही सवारी साधानमा तोडफोड

काठमाडौं, १ चैत । प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षका हैसियतमा शपथ ग्रहण गर्नुभए लगत्तै विरोध सुरु भएको छ । रेग्मीले आज राष्ट्रपति डा. रामवरण यादवकासामु राष्ट्रपति भवन शीतल निवासमा भएको एक समारोहकाबीच शपथ ग्रहण गर्नुभएको हो ।
खिलराज रेग्मीले मन्त्रिपरिषदका अध्यक्षका रुपमा शपथ लिनुहुने भएपछि आजै बिहानै नेकपा–माओवादी सहितका साना २२ दल सडकमा विरोध प्रदर्शनमा उत्रिएका थिए भने उनीहरुले रेग्मीले शपथ लिए लगत्तै आज नेपाल बन्दको घोषणा गरेका छन् ।
नेकपा–माओवादीसहित २२ दलले गरेको बन्दका क्रममा राजधानीका ठाउँ–ठाउँमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र प्रमुख चार दलको सहमति विरुद्ध प्रदर्शन भएका छन् ।
प्रदर्शनका क्रममा बन्दकर्ताहरुले काठमाडौंको वाफलमा दुई सरकारी सवारी साधानमा तोडफोड गरेका छन् । बन्दकर्ताका तोडफोडमा परेका सवारी साधान क्षतिग्रस्त भएको जनाइएको छ ।
त्यस्तै बन्दकर्ताहरुले राष्ट्रपति यादव विरुद्ध पनि सडकमा चर्को नाराबाजी गरेका छन् । बन्दकर्ताले चोक–चोकमा बसेर नाराबाजी गरिरहेका छन् भने कुपन्डोलमापनि दुई सवारी साधानमा तोडफोड भएको जनाइएको छ । यसैबीच २२ दलले विरोधका कार्यक्रम सार्वजनिक गरे लगत्तै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । उच्छृंखल गतिविधि तथा तोडफोड हुनसक्ने आशंकामा शहरका मूख्य चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । बन्दको आब्हानसँगै राजधानीका मूख्य सडकहरु सुनसान जस्तै भईसकेका छन् । यता, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले विदेशीको ईशारामा गम्भीर षड्यन्त्रसहित सरकार गठन भएको भन्दै विरोधका कार्यक्रमलाई सशक्त बनाउने चेतावनी दिनुभएको छ ।

No comments:

Post a Comment