Wednesday, 20 March 2013

दुई छोरीलाई निरन्तर बलात्कार

उदयपुर, ७ चैत । उदयपुरमा एक बाबुले आफ्ना १२ र ९ वर्षीया छोरीलाई लामो समयदेखि यौनशोषण गर्दै आएको खुलासा भएको छ ।
 उदयपुर रौता गाविस–९ राजाबास मुर्कुची बजारनजिकैका ३० वर्षीय हीरामान परियारले आफ्ना दुई छोरीलाई लामो समयदेखि बलात्कार गर्ने गरेको खुलासा भएको हो । स्थानीय महिलाको उजुरीका आधारमा पक्राउ परेका परियार स्वयंले आफूमाथिको अभियोग स्वीकार गर्दै प्रहरीलाई विस्तृत बयान दिएका समाचार आजको राजधानी दैनिकले छापेको छ । सिलाइ पेसा गर्दै आएका परियारले १२ वर्षीया जेठी छोरीलाई २०६८ माघदेखि र ९ वर्षीया कान्छी छोरीलाई ६ महिनादेखि यौनशोषण गर्दै आएको स्विकारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले परियारले जेठी छोरीलाई दैनिकजसो र कान्छी छोरीलाई कहिलेकाहीं यौन सम्पर्क गर्ने गरेको बयान दिएको बताए । प्रहरीका अनुसार परियारका दुई श्रीमती छन् । जेठी श्रीमती अन्जु परियार वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षदेखि कुवेतमा छिन् ।
कान्छी श्रीमती रमा परियार भने घरमै छन् । जेठी श्रीमतीबाट दुई छोरी र एक छोरा छन् । कान्छी श्रीमतीबाट भने बच्चा जन्मिएको छैन । कान्छी श्रीमती बनीबुतो गर्न गएका बेला छोरीहरूलाई यौनशोषण गर्न थालेका परियारले पछिल्ला दिनमा श्रीमती घरमै रहेको बेला पनि त्यसलाई निरन्तरता दिन थालेका थिए । ‘सुरुका दिनमा त श्रीमती घर नभएको बेला यौन सम्पर्क राख्थें, बानी पर्दै गएपछि श्रीमती सुतेको मौका पारी यौन सम्बन्ध राख्थें,’ प्रहरीसँगको बयानमा उनले भनेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक महेन्द्रकुमार पोखरेलका अनुसार परियारलाई जबर्जस्ती करणी र हाडनातासम्बन्धी दुईओटा मुद्दा चलाउने तयारी भइरहेको छ ।

No comments:

Post a Comment