
दैलेख, चैत्र ७ - पहिलो र दोस्रो दिन शान्तिपूर्ण रूपमा सञ्चालित एसएलसी त्यसयता भने अराजक बन्दै गएको छ । ठूलो संख्यामा चिट चोराउन केन्द्र वरिपरि भेला भएका अभिभावकले परीक्षा निरीक्षक र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेका हुन् । आफ्नालाई चिट चोराउन नपाएको बदला लिन कतिपय ठाउँमा अभिभावकले सुरक्षाकर्मीमाथि नै जाइलागेका छन् ।
तुर्सू मावि जगनाथ र अरनिको मावि चौराठा परीक्षा केन्द्रमा सोमबार अभिभावकहरू प्रहरी र शिक्षकमाथि जाइलागेका थिए । निरीक्षक बसेका शिक्षक र सुरक्षामा खटिएका प्रहरीले कडाइ गरेको भन्दै तुर्सूका अभिभावकले एक प्रहरी हवल्दारलाई घाइते बनाएका छन् । अरनिको माविमा शिक्षकमाथि हातपात गर्दै उत्तरपुस्तिका कब्जा गर्ने प्रयास गरेका थिए । घटना रोक्न स्थानीय प्रहरी र परीक्षा सञ्चालन समन्वय समितिले दिनभर तनाव झेल्नुपरेको थियो । परिस्थितिलाई मध्यनजर गरी मंगलबार तुर्सू र चौराठा केन्द्रमा थप प्रहरीसहित सुरक्षा व्यवस्था कडा पारिएको थियो । यहाँ प्रतिकेन्द्र कम्तीमा ७ देखि १० प्रहरी परिचालन गरिएका छन् ।
केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा 'टाइट' गरेको भन्दै आफूहरूलाई परीक्षार्थी र अभिभावकले धम्क्याउने गरेको गुनासो गरेका छन् । कुसापानीस्थित आदर्श माविका केन्द्राध्यक्ष पदम आचार्यले अभिभावकबाट सहयोग नपाएको भन्दै आफूलाई जिम्मेवारीबाट मुक्त गर्न प्रजिअ होमनाथ थपलिया र शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यसमक्ष आग्रह गरे । 'निरीक्षक साथीहरूलाई विद्यार्थीले सिधै थर्काउँछन्, बाँच्ने मन छ कि छैन ? बाहिर जाने त होलास् ? भन्छन्, केन्द्राध्यक्ष आचार्यको गुनासो थियो, 'यस्तो तनाव झेलेर परीक्षा चलाउन सकिँदैन ।'
पश्चिमका चामुण्डा, जम्बुकाँध, लकान्द्र केन्द्रमा अनुगमनकर्ता भूमिसुधा विक र मोहन पौडेलले चिट खोसेको भन्दै परीक्षार्थी र अभिभावकले ज्यान लिने धम्की दिएको शिक्षाले जनायो । ती केन्द्र आसपासमा भेला भएका अभिभावकले चिट चोराउन माग राखी नाराबाजी गर्ने गरेको अनुमगनकर्ताले बताए ।
यसैबीच, जिल्लास्तरीय परीक्षा सञ्चालन समन्वय समितिले अघिल्ला वर्षजस्तो सदरमुकाममा मात्र अनुगमन गरिने प्रचलनलाई भने यसपालि तोडेको छ । समितिका संयोजकसमेत रहेका प्रजिअ थपलिया, शिक्षा अधिकारी आचार्य, प्रहरी उपरीक्षक हिमबहादुर लामासहितले विभिन्न भेकका केन्द्रको अनुगमन गरेका छन् ।
No comments:
Post a Comment