Wednesday, 6 March 2013

साउदी जेलमा बसेर ५ हजार जना फर्के

कतार, २३ फागुन । गैरकानुनी हैसियतमा काम गरेर साउदी अरब बसेका ५ हजार नेपाली कामदार जेल बसेर स्वदेश फिरेका छन् । गैरकानुनी हैसियतमा कार्यरत कामदारले स्वदेश फिर्नुअघि जेल जानुपर्छ । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार वैशाखदेखि माघसम्म ५ हजार तीन सय ५९ जना नेपाली जेल बसेर स्वदेश फिरेको हो । ‘१० महिनामा ५ हजारका लागि ट्राभल डकुमेन्ट जारी भएको छ,’ साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘राहदानी नभएकाको हकमा यस्ता ट्राभल डकुमेन्ट जारी हुन्छ ।’

जेल बसेर सबै कानुनी प्रक्रिया पूरा गरेपछि प्रहरीको अनुरोधमा मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्ने गरेको छ । साउदीमा म्यानपावर कम्पनीसँग सम्झौता गरेअनुसार कम्पनी, सेवा सुविधा नहँुदा कामदार भाग्ने गरेका छन् ।
त्यस्ता कामदार ७० हजारभन्दा बढी रहेको अनुमान गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । त्यसरी भागेर काम गर्दै आएका कामदारहरू स्वदेश फिर्नुअघि रियादको हलआयर दमामको एकानब्बे र जेद्दाको जेलमा गएर जेल बस्ने गरेका छन् । उनीहरू सामान्यतया तीन महिनासम्म जेलमा बस्नुपर्ने भरतपुर-१, धनुषाका भोला महराले बताए ।
गैरकानुनी हैसियतमा कार्यरत कामदारलाई जेलमा बस्नुनपर्ने गरी स्वदेश फिर्न चाहेमा साउदी सरकारले आममाफी दिनुपर्छ । गत साता साउदीको श्रम मन्त्रीले उच्चस्तरीय सरकारी कार्यक्रममा गैरकानुनी आप्रवासीका लागि आममाफी दिने घोषणा गरेको थियो । तर त्यसको मिति अझै टुंगो नलागेको राजदूत पाण्डेले बताए । ‘साउदीका श्रममन्त्रीले आप्रवासीलाई आममाफी दिने घोषणा गरेका थिए,’ पाण्डेले भने, ‘तर कहिलेदेखि कहिलेसम्म लागू हुने भनेर समय बाहिर आएको छैन ।’
आममाफी दिएमा खराब सूचीमा परेका कामदारका लागि पनि ठूलो राहत मिल्ने थियो । हाल खराब सूचीमा परेका कम्पनीले हजारौं नेपालीको परिचयपत्र बनाउन नसक्दा घर पठाउन सकेका छैनन् । ‘घर फिर्न नपाएको चार वर्ष भयो,’ सुर्खेतका धनबहादुर ओलीले भने, ‘आममाफीको खबरले राहत मिल्छ कि भनेर आशा गरेका छौं । तर यसको समय टुंगो लागेको छैन ।’
साउदीले दुई वर्षअघि पनि आममाफी दिने बताएको थियो । तर त्यतिखेर हज गर्न आएर नर्फकनेका लागि मात्रै लागू हुने भन्दै कामदारका लागि खुल्ला गरेन । ‘हामीले आममाफीको निरन्तर माग गरिरहेका छौं,’ राजदूत पाण्डेले भने, ‘यसपटक सबैका लागि कार्यान्वयन गर्छ कि भनेर आशा राखेका छौं ।’

No comments:

Post a Comment