Sunday, 24 March 2013

घरेलु हतियारमा सिर्जनशील हात


विष्णु पोखरेल, काठमाडौं, चैत ११ - दशकअघि हँसियाका दाँत तिखार्न कुर्पो फलाममा रेती घोट्ने उनका औँला अचेल सतिसाल र खमारीका काठमा चलमलाउँछन्। रेती लगाइएका काठमा छिना, राँबो र बसिला (घरेलु औजार) चलाएर उनी कुँद्छन्- शिव, बुद्ध र अन्य देवदेवीका आकृति। सतिसालमा सर्प, माछा र गँगटाका आकार पनि बनाउँछन्। संखुवासभाका हर्कराज विश्वकर्मा पहिले कलाकार थिएनन्, कर्मी मात्र थिए। अहिले उनी काठमाथि कलाकारिता गर्छन्। कर्मीको भूमिका निभाउँदै हर्कराज आरानमा तातेर रातो बनेको फलाम पिट्छन् र गोर्खाली खुकुरी बनाउँछन्। कलाकार बनेर उनी त्यसलाई थन्क्याउने काठका दापमा भिन्न-भिन्न कलाकृति सिर्जना गर्छन्।
'खुकुरीको दापमा बुट्टा कुँद्न थालेपछि व्यापार ह्वात्तै बढ्यो,' राजधानीमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीमा कलात्मक खुकुरी प्रदर्शन गरिरहेका हर्कराजले भने, 'पहिले खुकुरी बेच्न गाह्रो थियो, अहिले बनाउनै भ्याई-नभ्याई छ।'

नेपाली समाजको परम्परागत घरेलु हतियार खुकुरीको दापमा कलाकारिता नौलो प्रयोग हो। यही नौलोपनले राज खुकुरी उद्योगका प्रोप्राइटर उनलाई बेफुर्सदिलो बनाइदियो।
खाँदबारीस्थित उक्त उद्योगमा पुग्ने जोकोहीलाई दापमा भरिएको कलाले लोभ्याउँछ। 'जिल्लाका भन्दा बाहिरबाट आउनेले यस्ता खुकुरी मन पराउँछन्,' माछाआकारको दाप खेलाउँदै उनले भने, 'चिनियाँहरुको त पहिलो रोजाइमा परेको छ यो।' केही चिनियाँले यस्ता खुकुरी किनेपछि अहिले उनलाई किमाथांका नाकाबाट फोन गरेर अर्डर गर्ने बढेका छन्। 'अहिले चिनियाँका लागि पुर्यायउनै धौ-धौ छ,' उनले भने, 'काठमाडौंबाट पनि अर्डर गरिरहन्छन्।'
हतियारमा हातेकला कोर्ने उनी एक्ला होइनन्। प्रदर्शनीमा सहभागी भोजपुर, धनकुटा र संखुवासभाका अधिकांश खुकुरी व्यवसायीले यस्तै कलात्मक खुकुरी राखेका छन्। उनीहरुले राखेका खुकुरीमा स्वदेशी र विदेशी आकर्षित छन्। 'सहरियाले सजाउनका लागि खुकुरी किन्छन्,' महालक्ष्मी खुकुरी उद्योग धनकुटाका सञ्चालक बलबहादुर रसाइलीले भने, 'सहरिया र विदेशीलाई बेच्न अहिले यस्ताखाले खुकुरी बनाउछौ।'
प्रदर्शनीमा सहभागी व्यवसायीले माछा, सर्प, विभिन्न धर्मका देवता, क्रिकेट ब्याट, सिङलगायत आकृति कुँदेका कलात्मक दापमा हालिएका खुकुरी राखेका छन्। पछिल्ला वर्षमा यस्ता कलात्मक खुकुरीको माग बढ्दै गएको र निर्यात समेत हुन थालेकाले यस्तै सामग्री प्रदर्शनीमा ल्याएको उर्मिला खुकुरी उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठ बताउँछन्।
यस्ता खुकुरी नेपालमा मात्र होइन, युरोप-अमेरिकामा पनि माग हुन थालिसकेको छ। 'हाम्रा कलात्मक खुकुरी विदेशमा पनि चर्चित भइसकेका छन्,' उनले भने, 'विदेशीहरु खुकुरी बनाएको हेर्न आउन थालेका छन्।' श्रेष्ठको आरनमा पुगेर दुई महिनाअघि मात्र दुई स्विडेनीले खुकुरी बनाउने कला सिकेर गएका छन्।
'स्विडेनबाट आमा-छोरा आएका थिए, उनीहरुले तीन दिन खुकुरी बनाउन सिकेर गए,' श्रेष्ठले भने, 'विदेश लैजान किन्नेहरू बढेका बढ्यै छन्।'
सामान्य खुकुरीको मूल्य दुई-चार सय रुपैयाँ मात्र पर्छ। तर, यस्ता कलात्मक दापयुक्त खुकुरीको भाउ भने हजारभन्दा माथि नै हुन्छ। खुकुरी निर्माताका अनुसार कलात्मक खुकुरीको भाउ न्यूनतम २ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ। यस्ता खुकुरी राजधानीमा विदेशीलाई एक लाखभन्दा बढीमा समेत बिक्री गरिन्छ।
परम्परागत शैली परिमार्जन गरेर उत्पादन गर्दा कारोबार बढ्ने व्यवसायीको अनुभव छ। 'विदेशीले पनि आफ्ना सामान अपग्रेड गर्छन्, हामीले खुकुरीमा गर्यौंक,' भोजपुरे व्यवसायी श्रेष्ठले भने, 'यसले व्यापार बढाउन सहज भयो।'

No comments:

Post a Comment