Thursday, 28 March 2013

मतदाता नामावली संकलनमा २६ जिल्लामा अवरोध

काठमाडौ, चैत्र १५ - फोटोसहितको मतदाता नामावली संकलन कार्यमा नेकपा-माओवादीलगायत ३३ दलले अवरोध पुर्‍याएका छन् । निर्वाचन आयोगका अनुसार बुधबारसम्म २६ जिल्लामा बाधा पुर्‍याइएको छ ।
votterlistनिर्वाचनको विरोधमा उत्रिएका दलका कार्यकर्ताले म्याग्दी, दैलेख, बैतडी, नुवाकोट, भोजपुरलगायत केही जिल्लामा आयोगका सामग्री लुटेका छन् । अन्य जिल्लामा भने नामावली संकलन नगर्न सामान्य अवरोध पुर्‍याएको आयोगले जनायो ।
आयोगले राजनीतिक कारणबाट संकलनमा अवरोध आएको भन्दै तत्काल प्रतिक्रिया दिन चाहेन । 'यसबारे सरकार र प्रमुख राजनीतिक दलहरूले निकास खोज्नुपर्छ,' एक अधिकारीले भने । अवरोध आएपछि नागरिकता लिन छुटेकालाई गृह मन्त्रालयबाट खटाउने नागरिकता टोलीसँगै मतदाता नामावली संकलन टोलीलाई पठाउने मनस्थिति बनाएको छ । यसबारे निर्णय गर्न भने बाँकी छ ।

आयोगले १ करोड ११ लाख जति फोटोसहितको मतदाता नामावली संकलन गरिसकेको छ । उसले चैत मसान्तभित्र थप १५ लाख संकलन गर्ने लक्ष्य राखेको भए पनि अवरोधले समस्या सिर्जना गरेको छ ।
भोजपुरस्थित कान्तिपुर संवाददाताका अनुसार नेकपा- माओवादीले अवरोध गर्न थालेपछि निर्वाचन कार्यालयले प्रहरी खटाएर फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम अघि बढाएको छ । मंगलबार कोट गाविसमा खटिएको टोलीको ल्यापटप, कम्प्युटरलगायत उपकरण माओवादी कार्यकर्ताले कब्जा गरेपछि थप सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । दैलेखमा माओवादीका कार्यकर्ताले चामुण्डा गाविस पुगेका आयोगका कर्मचारीबाट कम्प्युटर (ल्यापटप), जेनेरेटर, फिंगर पि्रन्ट, निर्वाचनसम्बन्धी कागजात लगायतका सामग्री लुटेको संवाददाताले जनाएका छन् । स्थानीय विनोद शाही, भूपेन्द्रबहादुर शाही लगायत ९-१० जनाको समूहले कब्जामा लिएका सामग्री अझै फिर्ता गरेका छैनन् । कब्जा गरिएका सामग्रीको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता देवीप्रसाद पौडेलले जनाए । माओवादीका भेरी-कर्णाली राज्य समिति सदस्य हर्कबहादुर शाहीले कब्जामा रहेका सरसामान फिर्ता गरिने बताए ।
यस्तै, कालिकोटमा माओवादी कार्यकर्ताले सिप्खाना र माल्कोट गाविसमा टोलीलाई अवरोध पुर्‍याएको निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जनाए । उक्त गाविस माओवादीका पूर्वसभासदद्वय धरेन्द्रा उपाध्याय र खडकबहादुर विश्कर्माको घर पर्छ । गोरखा संवाददाताका अनुसार माओवादीका कार्यकर्ताले हंसपुर गाविसमा खटिएको टोलीलाई अवरोध पुर्‍याएका छन् । अवरोधपछि टोलीले ल्यापटपसहित अन्य सामग्री भच्चेक प्रहरी चौकीमा राखेको जनाइएको छ । बैतडीको पाटनमा पनि माओवादी कार्यकर्ताले नामावली संकलन उपकरण लुटेपछि टोलीले मतदाता संकलन कार्य बन्द गरेको छ । बझाङमा बुधबार रायल गाविसमा टोलीलाई काम नगर्न भनेपछि नामावली संकलन अभियान रोकिएको छ । नुवाकोटमा अज्ञात समूहले चतुरालेबाट एक थान ल्यापटप, वेबक्याम र ल्याप्चे लिने मेसिन लुटेको निर्वाचन कार्यालयले जनायो ।
राजधानी काठमाडौंका गाविस र महानगरमा भने मतदाता नामावली दर्ता गराउनेको भीड बढेको छ । 'कुनै बाधा अवरोध छैन,' जिल्ला निर्वाचन प्रमुख शम्भु चालिसेले भने, 'नामावली दर्ता गराउनेको ओइरो बढेको छ ।'
कदम नसच्चिए सशक्त उत्रन्छौं: माओवादी प्रवक्ता नेकपा-माओवादीले प्रधानन्यायाधीश नेतृत्वको सरकार खारेज गरी संविधानसभामा प्रतिनिधित्व गरेका ३२ दलसहितको 'राष्ट्रिय सरकार' गठन नगरिएसम्म प्रतिरोधात्मक आन्दोलन जारी रहने जनाएको छ । 'चैत १ गतेको प्रतिगामी कदम कुनै हालतमा पनि क्षम्य हुने छैन,' माओवादीकी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसित भनिन्, 'संविधानसभामा प्रतिनिधित्व गर्ने दलसहितको राष्ट्रिय सरकार गठन नभएसम्म आन्दोलन रोकिने छैन । त्यही कदमका रूपमा मतदाता नामावली संकलन कार्यमा अवरोध गरिएको हो । अहिले दबाबका रूपमा नगर भनेका हौं ।'

No comments:

Post a Comment