
पहिलो पटक नेपाल आएका उनीहरूको राहदानी गत जनवरीमा मात्र जारी भएको प्रहरीले जनाएको छ । उनीहरूले ती नोट ज्याकेटभित्र र कपडाको पेटी बनाई लगाएर ल्याएका थिए । प्रहरीका अनुसार यसरी नक्कली रुपैयाँको ओसारपसार गर्ने पुरानो तरिका हो । उनीहरूले उक्त रकम वीरगन्जमा सिलाइबुनाइको काम गर्ने अनवर हुसेन अन्सारीलाई दिएका थिए ।
उनीहरूबीच रकम आदानप्रदान हुँदाहुँदै प्रहरीले पक्रेको हो । प्रहरीले उनीहरूसहित अर्का सहयोगी १९ वर्षीय हुसेन अन्सारीलाई समातेको हो ।
पक्राउ परेका चारै जनालाई काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार जहाजबाट ओर्लिएपछि उनीहरूको व्यवहारमा फरक थियो । 'सामान्य यात्रुले गर्ने व्यवहार र उनीहरूको व्यवहारमा धेरै फरक थियो,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'शंका लागेपछि हामी उनीहरूको पिछा गर्न थाल्यौं ।' उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै कलंकीतर्फ लागेका थिए । कलंकीको बाबा पेट्रोलपम्प अघिबाट वीरगन्ज जाने बस चढेपछि प्रहरी पनि त्यही बस चढेर त्यसतर्फ लागेका थिए ।
बदलियो ओसारपसारको तरिका
प्रहरीका अनुसार यस्ता गिरोहले ओसारपसार गर्ने तरिका बदलेका छन् । नेपालको बाटो हुँदै नक्कली नोट तस्करी गर्ने गिरोहले सुरुमा पाकिस्तानी एयरलाइन्सबाट पाकिस्तानी नागरिक नै प्रयोग गरेर तस्करी गर्ने गर्थे । प्रहरीले सुरक्षा कडा पारेपछि उनीहरूले बाटो बदलेका थिए । पाकिस्तानबाट दुबई, मलेसिया र थाइल्यान्ड हुँदै नेपाल र यहाँबाट भारत पठाउने गरेका थिए ।
प्रहरीले त्यो सूत्रसमेत पत्ता लगाएपछि उनीहरूले पाकिस्तानी नागरिकको सट्टा शंका नहुने हिसाबले भारतीय नागरिकको प्रयोग गर्न थाले । त्यसपछि तराई मूलका नेपाली नागरिक हुँदै पहाडियालाई समेत आर्थिक लालच देखाएर प्रयोग गरेको प्रहरीको भनाइ छ । 'नेपाली भूमिबाट ओसारपसार गर्ने सबै तरिका विफल भए,' ती अधिकारीले भने, 'त्यसपछि उनीहरू पुनः पुरानै तरिकामा पाकिस्तानी उडान र ओसारपसार गर्ने व्यक्तिसमेत पाकिस्तानी नै प्रयोग गर्न थालेको भेटिएको छ ।' उनीहरूले ह्वीलचेयर, झोला, पाउडर, बिस्कुट लगायतका बट्टामा फल्स बटम बनाएर नक्कली भारतीय रुपैयाँको तस्करी गर्दै आएका थिए । नेपालमा सुरक्षा कडा भएपछि बंगलादेशबाट भारतमा नक्कली रुपैयाँ पठाउने गरेको प्रहरीको भनाइ छ ।
अनवर हुसेन नाइके वीरगन्जमा पक्राउ परेका ३९ वर्षीय अनवर हुसेन भारतीय नक्कली नोट कारोबारका मुख्य नाइके भएको प्रहरी दाबी छ । प्रहरीका अनुसार विभिन्न माध्यमबाट आएका त्यस्ता नोट अनवरले लिने गरेका थिए । 'यसले अहिलेसम्म ९ पटकभन्दा बढी लिएर पारि (भारत) पठाएको पाइएको छ,' उनले भने, 'तर भारतमा कसले लिन्छ पत्ता लगाउन गाह्रो छ ।' यस्तो तस्करी गर्ने गिरोहले आफू पक्राउ परे पनि माथिल्लो व्यक्तिबारे कुनै सूचना नदिने गरेको प्रहरी बताउँछ । 'उनीहरू पक्राउ परेपछि धरौटी रकम बुझाइदिनेदेखि घरपरिवारको खर्चसमेत उनीहरूले नै उठाइदिने सम्झौता भएको हुन्छ, त्यसैले आफू पक्राउ परे पनि अरूबारे जानकारी दिँदैनन् ।'
एक हजारको ३ सय प्रहरीका अनुसार एक हजार भारतीय नक्कली रुपैयाँ ३ सय भारतीय रुपैयाँमा बिक्री हुने गर्छ । पाकिस्तानबाट काठमाडौं वा पर्सामा पुर्याइदिएपछि त्यसको भाउ बढ्ने गरेको प्रहरीको भनाइ छ । विभिन्न माध्यम हुँदै भारत पुग्दा त्यसको दाम बढेर ६ सय भारतीय रुपैयाँसम्म हुने गरेको छ । ६ वर्षयता मात्रै प्रहरीले १३ करोड ८७ लाख १६ हजार एक सय भारतीय नक्कली रुपैयाँ बरामद गरेको छ ।
No comments:
Post a Comment