
काठमाडौं, चैत्र ९ । बुढीगङ्गा जलविद्युत परियोजनालाई कुवेत फण्डले ऋण सहयोग गर्ने भएको छ । कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्ट –कुवेत फण्डले २० मेगावाट क्षमताको परियोजनाका लागि १ अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबर सहयोग गर्ने भएको हो । फण्डले नेपाल सरकारलाई ५० लाख कुवेति दिनार अर्थात् १ करोड ८० लाख बराबर अमेरिकी डलर ऋण सहयोग गर्ने समझदारी गरेको हो । शुक्रबार अर्थमन्त्रालयमा द्विपक्षिय समझदारी भएको हो ।
समझारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनी र कुवेत फण्डका तर्फबाट उप महानिर्देशक हेशाम अल वाक्यानले हस्ताक्षर गर्नुभएको हो । सुदूरपश्चिमको अछाम जिल्लामा बन्न लागेको परियोजनाका लागि कूल ५ करोड ५० लाख अमेरिकी डलर खर्च लाग्ने जनाइएको छ ।
यस मध्ये साउदी फण्डले २ करोड डलर सहयोग गर्ने अपेक्षा गरिएको छ । बाँकी १ करोड ७० लाख डलर बराबर खर्च भने नेपाल सरकार आफैंले जोहो गर्ने बताइएको छ । परियोजना विद्युत विकास विभाग आफैंले निर्माण गर्न लागेको हो । यो योजनाको सम्भाब्यता अध्ययन सन् १९९८ मै सम्पन्न भएको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन । योजना सन् २०१९ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
No comments:
Post a Comment