Sunday, 17 March 2013

संबैधानिक निकायमा भागबण्डा मिल्यो, अख्तियारमा कार्की

४ चैत, काठमाण्डौं । मुख्य चार राजनीतिक दलवीच संवैधानिक निकायका प्रमुखहरुको नियुक्तिमा भागबण्डा मिलेको छ ।
lokmansing-karkiजसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मूख्य सचिव लोकमानसिंह कार्की, निर्वाचन आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेती, महालेखा परिक्षकमा भानुभक्त आचार्य र लोकसेवा आयोगको प्रमुख आयुक्तमा कयोदेवी यमी नियुक्त गरिने भएको छ ।
निर्वाचन आयोगका निर्वतमान आयुक्तहरु दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवलाई पनि आयुक्तकै रुपमा निरन्तरता दिइने बताइएको छ ।
चार दलका शीर्ष नेताहरुको शनिवार बसेको वैठकले उनीहरुको नाममा सैद्धान्तिक सहमति जनाउँदै नियुक्तिका लागि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई जानकारी गराउने निर्णय गरेको स्रोतले जानकारी दियो । लोकमानसिंह कार्की र कयोदेवी यमी एमाओवादी सिफारिसमा, उप्रेती एमालेको सिफारिसमा र आचार्य नेपाली कांग्रेसको सिफारिसमा नियुक्त हुन लागेको स्रोतको दावी छ ।
अख्तियार प्रमुखमा नियुक्त हुन लागेका कार्की तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मुख्य सचिव थिए । राजा बीरेन्द्रको हुकुम प्रमाङ्गीबाट सिधै सहसचिवमा नियुक्ति पाएका कार्की राजपरिषद् स्थायी समितिका तत्कालीन सभापति भुपालमानसिंह कार्कीका छोरा हुन् । राजाको शासन कालमा उनले राजाको शासनको बिरोध गर्ने कर्मचारीलाई कारवाही गर्ने अभियान नै चलाएका थिए ।
निर्वाचन आयोगको प्रमुख आयुक्त बन्न लागेका उप्रेती तत्कालीन प्रमुख भोजराज पोखरेलले राजीनामा दिएपछि लामो समय कार्यबाहक प्रमुख निर्वाचन आयुक्त हुनुहुन्थ्यो । आचार्य नेपाल सरकारका अबकाशप्राप्त अर्थ सचिव हुनुहुन्छ भने यमी अहिले पनि लोकसेवा आयोगमा कार्यवाहक प्रमुख आयुक्त हुनुहुन्छ ।
अख्तियार र लोकसेवाका अन्य आयुक्तका बिषयमा पनि छलफल भइरहेको र भागबण्डा मिलाएरै नियुक्तिका लागि सिफारिस गरिने बताइएको छ ।

No comments:

Post a Comment