४ चैत, काठमाडौं । मुख्य दलहरुको सहमति अनुसार असार
पहिलो हप्ताभित्र चुनाव हुने/नहुने पत्तो नभएपनि देशभर चुनावी माहोल शुरु भैसकेको छ
। प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भए लगत्तै चुनावी
वातावरण बन्न थालेको हो । अस्तिताकासम्म के को चुनाव भनेर ओठ लेब्राउने जनता
बिस्तारै चुनावी गफगाफमा रम्न थालेका छन् ।
निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्त
गर्न दलहरुले तयारी शुरु गरिसकेका छन् । यसअघि निमित्त भएर काम गरेर अनुभव हासिल
गरिसकेका निलकण्ठ उप्रेतीलाई आयोग प्रमुख बनाउने तयारी भएको हो । पदाधिकारी नियुक्त
हुन बाँकी भएपनि निर्वाचन आयोगले आफ्नो तर्फबाट तयारी र गृहकार्य जारी राखेको छ ।
मतदाता शिक्षासँगै छुटेकाहरुको नामावली संकलनको काम भैरहेको आयोगका प्रवक्ता
अनिलकुमार ठाकुरले जानकारी दिनुभयो ।
‘देशका सबै गाविस र नगरपालिकामा छुटेकाहरुको
फोटो सहितको मतदाता नामावली संकलनको काम भैरहेको छ’ ठाकुरले अनलाइनखबरसित भन्नुभयो
।
छुटेकाहरुको मतदाता नामावली संकलनको काम चैत
महिनाभरी नै चल्ने ठाकुरले बताउनुभयो । जम्मा एककरोड ५४ लाख मतदाता रहेकोमा
अहिलेसम्म एककरोड १० लाख नामावली संकलन भैसकेको आयोगले जनाएको छ । प्रवक्ता ठाकुरका
अनुसार नामावली संकलनसँगै मतदाता शिक्षाको काम पनि भैरहेको छ ।
काठमाडौंमा घरदैलो
कार्यक्रम
जिल्ला निर्वाचन कार्यालय काठमाडौंले फोटो सहितको
मतदाता नामावली संकलन तथा अद्यावधिक बनाउन घरदैलो कार्यक्रमलाई फेरि निरन्तरता दिन
थालेको छ । घरघरमा पुगेर नामावली संकलन तथा संकलन भएकाहरुको नामावली अद्यावधिक गरी
शुद्ध गरिने कार्यालयले जनाएको छ । यसका लागि वडा कार्यालयहरुमा गठन भएका वडा
नागरिक मञ्चलाई परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चैत महिनाभर काठमाडौं जिल्लाका सबै गाविस सहित
महानगरपालिका र कीर्तिपुर नगरपालिकाका रहेक वडामा स्थायी एवं अस्थायी रुपमा बसोबास
गरिराखेका मतदाताको फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन
कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख शम्भुप्रसाद चालिसेका अनुसार
हालसम्म काठमाडौंमा स्थायी रुपमा बसोबास गरेका पाँचलाखभन्दा बढी मतदाता र बिभिन्न
जिल्लाबाट आई अस्थायी रुपमा बसोबास गरेका एकलखा ५० हजारभन्दा बढी मतदाताको
फोटोसहितको मतदाता परिचयपत्र बनाई सम्बन्धित जिल्लामा पठाइसकिएको छ ।
No comments:
Post a Comment