Sunday, 10 March 2013

चोरी गर्ने भारतीय गिरोह पक्राउ

काभ्रे, फाल्गुन २७ -  चोरी गर्दै हिँडेका १० जना भारतीय नागरिकहरूको एक गिरोहलाई प्रहरीले  पक्राउ गरेको छ । बनेपाको तरकारी बजारस्थित 'वेलकम गेस्ट हाउस' मा बसिरहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बनेपा र अपराध अनुसन्धान महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले  पक्राउ गरेको हो ।
' चोरी गर्दै हिँड्ने गिरोह नै पक्राउ गरेका छौं,' जिल्ला प्रहरी प्रमुख गीता उप्रेतीले भनिन्, 'उनीहरूले विभिन्न स्थानमा चोरी गरिसकेका रहेछन् ।'
 पक्राउ परेकाहरूमा भारत मोतिहारी कुरगाउँ ७ का जितेन्द्र साह -२२ वर्ष), सञ्जय कुमार -१७ वर्ष), पश्चिम चम्पारण बेतिया १४ का नहिम मियाँ -२८ वर्ष), मोतिहारी बिसुनपुर कास्वाटोल २ का पवन साह -२४ वर्ष) र मदन साह -४२ वर्ष) छन् । त्यस्तै भारतकै समनकुमार यादव -२४ वर्ष), मोतिहारी अठमुहा १३ का संसाधन अन्सारी -२३ वर्ष), बिसुनपुर २ का अमन कुमार -१८ वर्ष) र अठमुहा १२ का अंगेश साह, अठमुहा १३ का मनोज कुमार -२४ वर्ष) समेत  पक्राउ परेका छन् । 'भारतीय नागरिकको उक्त गिरोहबारे थप अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखामा लगिएको छ,' उनले भनिन्, 'महाशाखाले पनि उनीहरूलाई खोजी गरिरहेको थियो ।' गिरोहको साथबाट ७ थान मोबाइल फोनसहित  चोरी गरेपछि सामान राख्ने १०/१५ वटा झोलासमेत फेला परेको छ । केही महिनाअघि खुलेको सामसुङ सोरुम चोर्न उनीहरू बनेपा आएको अनुसन्धानबाट खुलेको छ ।
यसअघि विराटनगरमा ल्यापटप र मोबाइल सोरुम चोरी गरेको खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक खेम आचार्यले बताए । 'फागुन २२ मा यो गिरोह यता भित्रिएको रहेछ,' उनले भने, 'शुक्रबार बिहान ३ बजे बनेपामा भर्खरै खुलेको सामसुङको सोरुम चोर्ने योजना बनाएका रहेछन् ।' उनीहरूले  चोरी गरेको सामान बजार मूल्यभन्दा केही सस्तोमा पुनः बजारमै बिक्री गर्ने गरेको जानकारीमा आएको प्रहरीले जनायो ।

No comments:

Post a Comment