Friday, 1 March 2013

एमाओवादी र -माओवादीबीच भौतिक सम्पत्ति बाडफाँड गर्ने सहमति

काठमाडौँ, १९ फागुन। एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच पार्टी फुट्नुअघिको भौतिक सम्पत्तिलाई बाडफाँड गर्ने सहमति भएको छ।
 माओवादी अध्यक्ष मोहन वैद्यले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी दुई पार्टीबीच यसअघि भएको सहमतिअनुरुप पार्टी फुट्नुअघिको भौतिक सम्पत्तिको बाडफाँड टुङ्ग्याउन आग्रह गर्नुभएको थियो ।
दाहाल निवास लाजिम्पाटमा भएको सो भेटमा एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा,  चितवनलगायत अन्य जिल्लाको भौतिक सम्पत्ति पार्टी फुट्दाको केन्द्रीय सदस्यको अनुपातका आधारमा माओवादीलाई ३० प्रतिशत दिइने र पेरिसडाँडाको एमाओवादी केन्द्रीय कार्यालय खरिद गर्दाको तिर्न बाँकी ऋणसमेत दुवै पार्टीले तिर्ने सहमति भएको छ।

भेटमा सहभागी माओवादी सचिव देव गुरुङले दुई पार्टीबीच सम्पत्तिको भागबन्डा टुङ्ग््याउने सैद्धान्तिक सहमति यसअघि नै भए पनि अहिलेसम्म कार्यान्वयन नभएकाले त्यसलाई तुरुन्त कार्यान्वयन गर्ने सहमति आजको भेटमा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “चितवनमा पार्टी कार्यालयको स्वामित्व विवादमा गत असार १६ गते भएको झडपको विषयलाई लिएर प्रशासनले अहिले हाम्रा कार्यकर्ता पक्राउ गर्ने र पक्राउपुर्जी जारी गरेको विषयमा एमाओवादी नेतृत्वको ध्यानाकर्षण गरायौँ। उहाँहरूले विगतमा भएको सहमति अनुसार नै सम्पत्तिको बाँडफाँड गरौँ, चितवनमा मुद्दा फिर्ता लिने र पक्राउ कार्यकर्तालाई रिहाई गर्न पहल गर्छौँ भन्नुभयो ।”
भेटमा एमाओवादीबाट अध्यक्ष दाहाल, प्रवक्ता अग्नि सापकोटा, पार्टी कार्यालय मुख्यसचिव हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो भने माओवादीबाट अध्यक्ष वैद्य र सचिव गुरुङ सहभागी हुनुहुन्थ्यो।

No comments:

Post a Comment