Friday, 1 March 2013

तीन पत्नी मिलेपछि पति फरार

कैलाली, १८ फागुन । आफ्नो पतिले एकपछि अर्को गरी सौता हाल्न थालेपछि बिचल्लीमा परेका तीन महिला प्रहरीको शरणमा पुगेका छन् । डडेलधुरा आलिताल–९ जोगबुढाका करण कुँवरका तीन पत्नीले न्यायको माग गर्दै कैलाली प्रहरीमा उजुरी दिएका समाचार आजको सौर्य दैनिकले छापेको छ ।
अत्तरियामा डेरामा बस्दै आएका २४ वर्षीय कुँवरले एक साताअघि कञ्चनपुरबाट चौथो विवाह गरेर ल्याएपछि आफूहरूलाई बिचल्लीमा पारेको भन्दै चौथी पत्नीसहितै उनीहरूले कुँवरमाथि कारबाहीको माग गरेका हुन् ।
‘विवाह नगरेको र तिमी मात्रै मेरी पत्नी हौ भनेर फकाउने र विवाह गर्ने त फेसन नै भयो,’ जेठी पत्नी पुष्पाले भनिन् । कुँवरकी एक पत्नीले एउटी छोरी छाडेर अर्को बिहे गरिसकेकी छन् । बाँकी तीन पत्नी घरमै छन् । अर्को बिहे गर्ने पत्नी र पुष्पाबाट जन्मिएकी एक/एक छोरी पनि सँगै छन् ।
‘अहिलेसम्म विवाह नगरेको र मसँग विवाह गरे पालनपोषण गरेर राख्ने भनेर प्रलोभनमा पारेर जहाँ गयो, उहीँ विवाह गर्दै हिँड्दा रहेछन्,’ माइली पत्नी लक्ष्मीले भनिन्, ‘जति सम्झाउँदा पनि अर्को विवाह गर्न छाडेनन्।’ कुँवरले सुरुमा कहीँकतैबाट मोबाइल नम्बर पत्ता लगाएर दिनहुँजसो फोन गरेर चिल्लो र मीठा सपना देखाई केटीलाई प्रलोभनमा पारेर विवाह गर्ने गरेको कान्छी पत्नी कौशिलाले बताइन् । पतिले एकपछि अर्को विवाह गरे पनि घरमा ससुराले छोरालाई केही नभन्ने गरेकाले न्यायका लागि प्रहरी कार्यालयमा पुगेको तर प्रहरीले के भएको हो भनेर केही दिन अनुसन्धान गर्ने भनी मुद्दा दर्ता नगरिदिएको पुष्पाले बताइन् ।
तीनवटै पत्नी प्रहरीमा गएको थाहा पाएर करण फरार भएकाले उनको खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment