Thursday, 21 March 2013

मिस नेपालको उपाधी इशानीलाई


स्मृति ढुंगाना, काठमाडौं, चैत ८ - संयुक्त परिवारको पक्षमा मत जाहेर गरेकी इशानी श्रेष्ठ यस वर्षको मिस नेपाल भएकी छिन्। प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रमको फाइनलमा उनलाई 'एकल वा संयुक्त परिवारमध्ये कुनचाहिँ मन पराउनुहुन्छ र किन?' भन्ने प्रश्न आएको थियो। जवाफमा उनले संयुक्त परिवारले समाजप्रति जिम्मेवारी, आफन्तप्रति माया र संस्कार सिकाउने बताएकी थिइन्। सानीआमाको थापाथलीस्थित घरमा बस्दै आएकी २१ वर्षीया इशानीले उपाधिसँगै ५० हजार रुपैयाँ, डब्लुडब्लुएफको सद्भावना दूत, सामसुङ मोबाइल र थाइ एयरको टिकट पाएकी छिन्। उनले असोज १२ मा इन्डोनेसियामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। व्यक्तित्व विकासको प्रशिक्षण लिन प्रतियोगितामा सहभागिता जनाएकी उनले उपाधि पाउँदा खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको प्रतिक्रिया दिइन्।
नक्सालका ६९ वर्षे इन्द्रभक्त साखःकर्मीको आँखामा नातिनी मिस नेपाल हर्षका आँसु थिए। 'राति सपनाका नातिनीले जितेको देखेको थिएँ,' उनले भने, 'भगवानले आशीर्वाद दिनुभएको रहेछ।' उनी रोटरी क्लब अफ राजधानीका प्रेसिडेन्टसमेत हुन्।


इशानीकी आमा भेनस श्रेष्ठ प्रतियोगिता हेर्न मंगलबार मात्रै अमेरिकाबाट नेपाल आइपुगेकी थिइन्। 'उसको इच्छाअनुसार काम गर्न दिएका थियौं,' उनले भनिन्, 'उसलाई अब सामाजिक जिम्मेवारीसमेत थपिएको छ।' इशानीका दुई बहिनी र एक भाइ छन्। उनले मिस वाकको उपाधिसमेत जितेकी थिइन्।
मिस नेपालको १८ औं सस्करणमा १८ प्रतियोगीमध्ये सिन्धुलीकी रोजिशा शाही ठकुरी 'मिस नेपाल अर्थ' घोषित भइन्। उपाधिसँगै उनले ३५ हजार रुपैयाँ र फिलिपिन्स एयरको टिकट जितिन्। आगामी मंसिरमा मलेसियामा हुने मिस अर्थमा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन्। २१ वर्षीया श्रुतिमा शाहले मिस नेपाल इन्टरनेसनल र फोटोजेनिक उपाधि पाइन्। उनले कात्तिक १० मा जापानमा हुने मिस इन्टरनेसनलमा नेपालका तर्फबाट सहभागिता जनाउनेछिन्।
विभिन्न विधाअन्तर्गत सिपोरा गुरुङले ट्यालेन्ट, रिजु श्रेष्ठले स्माइल, अस्मिता सिटौलाले बब्ली, मेघना श्रेष्ठले पन्चुयालिटी र समिक्षा श्रेष्ठले पर्सनालिटीले उपाधि जितिन्।
प्रतियोगितामा पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल, बलबहादुर कुँवर, सलमान रिवान, अनुपबहादुर मल्ल, चारु मलहोत्रा र सरोश्नी शेरचन निर्णायक थिए। यसपटक प्रतियोगिता दर्शकहरूले समेत प्रत्यक्ष हेर्न पाऊन् भनेर टिकटको व्यवस्था गरिएको थियो।










तस्बिर : केशव थोकर/मदन चौधरी

No comments:

Post a Comment