लण्डन ७ साउन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयताका बारेमा राजनीतिक दलहरुबीच साझा धारणा बनाउन सकिने बताएका छन्। गैरआवासीय नेपाली संघ युकेले आइतबार रेडिङमा आयोजना गरेको च्यारिटी कार्यक्रममा थापाले पहिचानलाई मुख्य आधार बनाएर संघीयतामा जान सकिने बताए। 'नेपाली समाजमा उठेको पहिचानसहितको संघीयतका बिषयमा ठूलो मतान्तर देखिएको छैन', थापाले भने- 'संघीयतासम्बन्धी विवाद समाधान नै गर्न नसकिने भने होइन।' पहिचान, प्रतिनिधित्व, पहुँच, प्रगति र प्रेम (पाँच 'प') जस्ता कुरालाई प्राथामिकतामा राखेर संघीयतासम्बन्धी विवाद समाधान गर्न सकिने उनले बताए। 'संघीयतको मुद्दामा नेपाली कांग्रेस सबै पक्षसँग छलफल गरेर अघि बढ्न तयार छ, थापाले भने- 'कांग्रेसलाई लागेको संघीयताविरोधी आरोप गलत छ।'कार्यक्रममा थापाले बोल्न सुरु गर्दा आदिवासी जनजातिको एउटा समूहले कालो झण्डा देखाएर विरोध गरेको थियो। उनीहरुले थापालाई संघीयता विरोधी नेताको आरोप लगाउँदै कार्यक्रमस्थलमै विरोध प्रदर्शन गरेका थिए। संविधानसभाको निर्वाचन नजिकै गर्दा दलहरु आ-आफ्नो घोषणापत्र निर्माणमा जुटेकाले सबै दलका घोषणापत्रमा गैरआवासीय नेपाली संघमा मागलाई समेत समेट्न दबाब दिनुपर्ने उल्लेख गरे। उनले एक पटकको नेपाली सधैंको नेपाली भन्ने आफ्नो स्पष्ट मान्यता रहेको बताउदै उच्च प्रविधि र विकास भएका ठाउँमा नेपाली पुग्नु राष्ट्रकै गौरव भएकाले यसलाई अवसरको रुपमा लिएर राष्ट्रलाई प्रगतितर्फ लैजान मद्दत पुग्ने नेता थापले उल्लेख गरे।
No comments:
Post a Comment