Monday, 24 June 2013

५ दिनमै निर्माण भए डेढ करोडका भवन!

५ दिनमै निर्माण भए डेढ करोडका भवन!
काठमाडौं असार १० – सामान्यतया विद्यालय भवन बनाउन कति समय लाग्ला? एक वर्ष, दुई वर्ष वा त्योभन्दा बढी। तर, जुम्लाका ७७ वटा विद्यालयले पाँच दिनभित्र भवन निर्माण कार्य सकेको भन्दै डेढ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। विद्यालय सुधार योजनातर्फ गत आर्थिक वर्षमा जिल्लाका ७७ विद्यालयको भवन निर्माण, मर्मत, शौचालय निर्माण तथा पुनर्स्थापनाको काम असार २० मा सुरु गरी सोही महिनाको २४ गतेभित्र सम्पन्न गरेको प्रतिवेदन शिक्षा विभागमा आएको छ। विभागको आर्थिक प्रशासन शाखामा रहेको प्रतिवेदनअनुसार भौतिक निर्माण तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ७७ वटा विद्यालयको भवन निर्माण पाँच दिनमा सकेको भनी एक करोड ५४ लाख १८ हजार खर्च गरिएको छ।
जिल्ला शिक्षा कार्यालय जुम्लाले गत वर्ष असार १९ गते ती विद्यालयको खातामा रकम पठाएको थियो। जिशिकाले विद्यालयहरूलाई ६० हजारदेखि ८ लाख ५० हजारसम्म निकासा गरेको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनअनुसार जिशिकाले रकम निकासा गरेको भोलिपल्ट नै विद्यालयहरूले निर्माण सुरु गरेको र २४ गतेभित्र सबै काम सकिएको जानकारी पठाएका थिए।
पाँच दिनमै निर्माण सकी डेढ करोड बढी रकम खर्च भएको जानकारी पाए पनि विभागले अनुगमन गरेको छैन। विभागकै भौतिक सेवा शाखा र आर्थिक प्रसासन शाखाका केही कर्मचारीले असम्भव जानकारी पाउँदासमेत विभागले त्यस विषयमा चासो नदिएको गुनासो गरे। 'पाँच दिनमै ७७ विद्यालयको भवन बनाइएको भन्नु गलत कुरा हो,' विभागका कर्मचारीले भने, 'भवन बने–नबनेको अनुगमन तुरुन्त हुनुपर्छ।'
विभागको भौतिक सेवा शाखाका प्रमुख झप्परसिंह विकले पाँच दिनमा भवन निर्माणको काम असम्भव भएको बताए। सिनियर डिभिजन इन्जिनियरसमेत रहेका विकले भने, 'जिल्लाबाट कस्तो कुरा आएको छ, थाहा भएन तर यो सम्भव हुने काम होइन।' उनले जुम्लाको विद्यालयका विषयमा अध्ययन गरेर वास्तविकता पत्ता लगाउने जानकारी दिए।
विभागकै प्रमुख लेखा नियन्त्रक कृष्णबहादुर खड्काले जुम्लामा विद्यालयको निर्माण कार्य ५ दिनमा नै सकिएको र त्यसमा डेढ करोडभन्दा बढी खर्च भएको जानकारी आएको स्वीकार गरे। पाँच दिनमै भवन निर्माण कार्य सकिनु असम्भव भएको भन्दै महालेखा परीक्षकको कार्यालयले अनुसन्धान थालेको उनले जानकारी दिए। 'महालेखाले सो विषयमा यथार्थ नबुझेको र निर्माण स्थलको निरीक्षण नगरेको भनी विभागमा लेखापरीक्षणको फाइलसहित जानकारी पठाएको छ,' उनले भने।
विभागमा आएको जानकारीअनुसार भवन निर्माणका लागि जिशिकाले सबैभन्दा बढी रकम मालिका माध्यमिक विद्यालय धापालाई पठाएको छ। नया" कक्षा कोठा निर्माण शीर्षकमा जिशिकाले उक्त विद्यालयलाई ८ लाख ४० हजार निकासा दिएको थियो। विद्यालयले रकम निकासा भएको भोलिपल्ट काम सुरु गरी २४ गतेभित्रै सबै काम सकेको जानकारी जिशिकामा गराएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, बढी रकम पाउनेमा जनता सेवक प्रावि बन्तडी, जनप्रयि प्रावि डुंग्रे, महादेव प्रावि चौथा र अशोक प्रावि भारतिवाडा छन्। ती विद्यायलाई नयाँ कक्षा कोठा निर्माण शीर्षकमा जिशिकाले चार लाख ४४ हजार निकासा दिएको थियो।
नया" कक्षा कोठा निर्माणकै लागि जिशिकाले शंकर निमावि गर्ज्याकोट र कार्तिकस्वामी निमावि गैरीगाउँलाई तीन लाख ९० हजारका दरले निकासा गरेको थियो। विद्यालयको बाह्य वातावरण सुधारका लागि रुपाकोट प्रावि बाझागाडालाई एक लाख २० हजार, भवन मर्मतका लागि त्रिभुवन उमावि भारज्वालालाई तीन लाख निकासा गरिएको थियो भने राहदेवी मावि टोप्ला र जनजागृति मावि छोडालाई ६० हजारका दरले रकम दिइएको थियो।
जिशिकाले रकम पठाएका विद्यालयमध्ये धेरैले ५ दिनमा र केहीले त एकैदिनमा काम सकेको प्रतिवेदन पठाएका छन्। प्रतिवेदनमा १५ वटा विद्यालयको नाम र कामको विवरण प्रष्ट लेखी पठाइएको छ भने अन्य विद्यालयले पनि पाँच दिनभित्रै काम सकेको जनाइएको छ। श्री निमावि लामाचौर, शंकर निमावि लेर्पा, श्री निमावि लुमा र अन्नपूर्ण निमावि माष्टमुण्डुले त छात्रा शौचालय निर्माण शीर्षकमा तीन लाख २८ हजार आठ सय १४ रुपैयाँ ७३ पैसा खर्च गरी पाँच दिनमै काम सकिएको जानकारी जिल्लामा गराएको छ।

जिल्ला शिक्षा अधिकारी नेपालहरि रानाभाटले विद्यालयबाट पाँच दिनमै काम सकेको जानकारी आएको स्वीकार गरे। उनले प्रतिवेदन बनाउने व्यक्ति नयाँ भएकाले मितिमा गल्ती भएको दाबी गरे। 'प्रतिवेदन बनाउने मान्छे कच्चा भएकाले समस्या देखिएको हो,' उनले भने, 'प्रतिवेदन बनाउने कर्मचारी नयाँ भएकाले मिति मिलाएनछन्।' 

No comments:

Post a Comment